कृषकको प्रत्यक्ष स्टल रहने गरी कंलकीमा कृषि तथा तरकारी बजार सन्चालनमा आएको छ । स्थानीय कृषक र बिदेशीबाट फर्किएका युवालाई समाबेश गरिएको उक्त बजारको उद्घाटन शुक्रबार कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले गरेकी हुन् ।

मन्त्री अर्यालले किसानले उत्पादन गरेको वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन । ‘एकजनाले मात्रै उत्पादन गर्दा बजार खोज्नु पर्ने अवस्था हुन्छ । हामीले सामुहिकतामा ठूल्ठूलो मोडेलमा तरकारी, फलफूल उत्पादन ग¥यौं भने यस्ता बजारहरु तपाईहरुको गाउँमा आफै खोज्दै आउछ’, उनले भनिन, ‘तपाईहरुले उत्पादन गर्नुस्, कृषि मन्त्रालयले तपाईहरुको गाउँमा संकलन केन्द्र दिन्छ । त्यो गाउँमा संकलन गर्ने, त्यहाँ यस्तै बजारहरु पुग्छन् र बजारतिर पठाइने छ ।’

कलंकी कृषि बजारमा हाल १ सय १५ वटा स्टल रहेका छन् । कंलकी तरकारी बजारका सन्चालक बिजय केसीले १ सय १५ स्टल मध्ये ६० प्रतिशत किसानको स्टल रहेको जानकारी दिए । उनले भने, ‘किसानको बारीबाट सिधै उपभोक्तालाई बिक्री गर्ने हुदा अन्य बजारको तुलनामा धेरै सस्तो छ ।’
केसीका अनुसार, कलकी बजारमा पालुङ, धादिङ, नुवाकोट, ललितपुरका किसानहरुले स्टल राखेका छन । किसानहरुकै स्टक हुदा तरकारीमा भइरहेका अन्य बजारको तुलनामा १० प्रतिशतले सस्तो भएको उनको दाबी छ । केसीका अनुसार १५ दिनसम्मका लागि थप छुटको समेत व्यवस्था गरिएको छ ।
यस्तै, सर्बसाधरणको सहजताका लागि डिजिटल सेवा मार्फत भुक्तानीको समेत व्यवस्था गरिएको जनाएको छ ।