logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हामी दलीय व्यवस्थामा छौ, दलहरुको विवाद निरुपण नभइ चुनाव हुन सक्दैन : झलनाथ खनाल


अंकुरण खबर
832
Shares

नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपाको आधिकारिकता निर्वाचन आयोगले आफूहरुलाई दिनेमा शतप्रतिशत विश्वस्त रहेको बताएका छन् ।

निर्वाचन आयोगमा आधिकारिकता दाबीको पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दल ऐन, तथ्य र प्रमाण हेरेर आयोगले आफूहरुलाई आधिकारिकता दिनेमा शतप्रतिशत विश्वस्त रहेको बताए ।

उनले ओली समूहले पनि आफूलाई आधिकारिक रहेको दाबी गर्न संविधानले छुट दिएको भए पनि तथ्य, प्रमाण र दल ऐनको व्यवस्था बमोजिम आफूहरुले नै आयोगबाट आधिकारिकता पाउने जिकिर गरे ।

नेता खनालले भने, ‘दल विभाजन गर्ने शक्ति (बहुमत) नभए पनि राजनीतिक रुपमा विभाजित पार्टीको सानो टुक्रा त बालुवाटार पनि हो, आधिकारिकताको दाबी उसले पनि गर्न पाउँछ, तर अब वास्तविक आधिकारिक को हो त? दल ऐनमा टेकेर निर्वाचन आयोगले निरुपण गर्नुपर्छ, तथ्यहरुका आधारमा । त्यो समय आइपुगेको छ।’

उनले सुरुमा दुवै समूहले आ–आफू आधिकारिक रहेको दाबी गरे पनि यो विवाद निरुपणको समय बल्ल आइपुगेको बताए ।

उनले दलहरुबिचको विवाद समाधान नभइकन निर्वाचन हुन नसक्ने बताए ।

उनले भने, हामी दलीय व्यवस्थामा छौ । दलहरुको विवाद निरुपण नभइकन चुनाव हुन सक्दैन । दलहरु नै निर्वाचनका मुख्य खेलाडी हुन् । ती खेलाडीहरुलाई तयार नपारी खेल हुँदैन । आयोगले यो कुरा बुझेको छ।’

खेल खेल्नका लागि खेलाडी तयार हुनुपर्छ भन्ने कुरा आफूहरु भन्दा धेरै निर्वाचन आयोगले नै बुझेको हुनुपर्ने नेता खनालले बताए ।