पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिवार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म मौसम बदली रहनेछ ।
प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । साथै देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी आज राति पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको विभागको अनुमान छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात तथा सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, १ नम्बर र बागमती प्रदेशमा बदली भई हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’