बलात्कार पछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको पुष्टि भएपछि भेजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।
स्वाब परीक्षणले घटनाको अनुसन्धानमा थप सहजता हुने प्रहरीको भनाइ छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी गत बुधबार (माघ २१ गते) बिहान घरबाट विद्यालय निस्किएकी थिइन् । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत उनी विद्यालयबाट घर जाने भनेर फर्किए पनि घर नपुगेपछि खोजी गर्ने क्रममा मृत फेला परेकी थिइन् ।
घरभन्दा करिब ३ किलोमिटर टाढा लेवलेक सामुदायिक वनको जंगलमा भागरथीको शव फेला परेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानकै क्रममा बलात्कारपछि हत्या गरिएको आशंकासहित प्रहरीले विस्तृत अनुसन्धान अगाडि बढाएको थियो ।
तर, अनुसन्धान थालिएको पाँचौं दिनसम्म पनि घटनामा संलग्नहरु पक्राउ पर्न सकेका छैनन् । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय कैलालीबाट एसएसपी जनकराज पाण्डेको टोली शुक्रबारै बैतडी पुगेको थियो ।
यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईको टोलीले पनि घटनाको अनुसन्धानमा सघाइरहेको छ । भागरथीको बलात्कारपछि हत्या घटनामा भइरहेको अनुसन्धानको सुपरीवेक्षण गर्न आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं घटनास्थल पुगेका थिए ।