logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026

विप्लवको हड्तालले ५ जिल्लाका विद्यालय बन्द


अंकुरण खबर
1.586K
Shares

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युष्टि पार्टीको शैक्षिक हड्तालले सोमबार दाङसहित पाँच जिल्लाका शैक्षिक संस्थामा पठन(पाठन बन्द भएको छ ।

रूकुम पश्चिममा अखिल (क्रान्तिकारी) का नेता पक्राउ परेको विरोध विप्लव समूहले दाङसहित साबिक राप्तीका सल्यान, प्यूठान, रोल्पा, रूकुममा एकदिने शैक्षिक हड्तालको घोषणा गरेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २४औं जिल्ला सम्मेलन आयोजक समिति दाङका संयोजक अनिल केसीले विज्ञप्ति प्रकाशित गर्दै सोमबारको शैक्षिक हड्तालबारे जानकारी दिएका थिए ।

केसीले आफ्नो संगठनका रूकुम पश्चिम जिल्ला अध्यक्ष प्रेम बोहोरा, कोषाध्यक्ष धनबहादुर वलीलगायत सर्वसाधारण सागर बुढा, अभिषेक बुढा र किरण रसाइलीलाई आफ्नै कोठामा बसेर अध्ययन गरिरहेका बेला गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पक्राउ परेका सबैविरूद्ध झुठा मुद्दा लगाई हिरासतमा राखेर यातना दिने कार्य भइरहेको भन्दै त्यसप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले पक्राउ गरिएका सबैलाई बिना सर्त रिहा गर्न माग गर्दै त्यसो नगरिए कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।