नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसद विघटनकाविरुद्धमा अन्तिम धक्काका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
शुक्रबार तामाङ समुदायको सोनाम ल्होसार र शेर्पा समुदायको ग्याल्बो ल्होसार पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले प्रतिगामी कदम विरुद्ध अन्तिम धक्काका लागि तयार रहन आव्हान गरेका छन् ।
गत पुस ५ गते प्रधानमन्त्र केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्ष गरिरहेको छ ।
‘पछिल्लो घटनाका रुपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको छ । त्यसकारण हजारौं जनताको त्याग र समर्पणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध आन्दोलनमा होमिनुको कुनै विकल्प छैन’, विज्ञप्तिमा भनिएको छ ।
‘तसर्थ तामाङ र शेर्पा समुदाय सहित सम्पूर्ण नेपाली जनतामा यस पर्वको अवसरमा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामनाका गर्दै प्रतिगामी कदम विरुद्ध अन्तिम धक्काका लागि तयार रहन हार्दिक आव्हान गर्दछौं ।’
