logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गरिँदैछ : कांग्रेस


अंकुरण खबर
1.313K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न लागेको भन्दै विरोध जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै वृहत्तर विमर्श बिना नै संसद विघटन भएको समयमा निर्देशिका जारी गरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि प्रश्न उठेको बताएका हुन् ।

विरोधका बाबजुद सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न नहुने र नपाउने कांग्रेसको भनाइ छ । सामाजिक सञ्जाललाई नियमन गर्ने र मर्यादित बनाउन विद्यमान कानून भित्रै आवश्यक प्रावधान रहेको कांग्रेसको भनाइ छ ।

प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिँदै कांग्रेसले यसको विरोधमा आन्दोलनको चेतावनी समेत दिएको छ । सामाजिक सञ्जालमा व्यक्त मतलाई कारबाहीको दायरामा ल्याउने सरकारको तयारी अधिनायकवाद तर्फको एक अर्को फड्को भएको कांग्रेसको भनाइ छ ।