स्वास्थ्य पत्रकार मञ्चले कोभिड १९ को महामारी र कोभिशिल्डको प्रभावकारिता विषयमा सरोकारवालासंग अन्तक्रिया कार्यक्रम गरेको छ ।
सोमबार मञ्चले राजधानीमा आयोजना गरेको कार्यक्रममा सरोकारवाला विज्ञहरुले नेपालमा कोभिशिल्ड खोपको प्रभावकारिता राम्रो भएको भन्दै निर्धक्कका साथ लगाउन अपिल गरेका छन् । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले कोरोना रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले निकै प्रभावकारी काम गरेको दावी गरेका छन् । उनले बिरोध र असहयोगकै बाबजुत यो प्रभावकारीता ल्याउन मूख्य रुपमा स्वास्थ्यकर्मीको ठुलो देन रहेको बताए । नेपालमा २ करोड १६ लाख जनसंख्यालाई खोप लगाउने उदेश्य रहेको मन्त्री रावतको भनाई थियो ।
कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने लगायतका विभिन्न लक्षण देखिए पनि निको हुने भएकाले सबैलाई खोप लगाउन विज्ञहरुले सुझाएका छन् । खोप विज्ञ डा.श्यामराज उप्रेतीले कोभिशिल्ड खोप सबैले लगाउनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले विश्वका १६ देशहरुमा लगाइरहेको यो ‘कोभिशिल्ड खोप’ अत्यन्त प्रभावकारी र सुरक्षित रहेको समेत जिकीर गरे ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले कोरोना खोप शुरुमा ५५ वर्ष भन्दा माथिका समूहलाई दिनुपर्ने आफूले भन्दै आएको भए पनि अन्य समूहबाट शुरु भएको जनाए । उनले आफूले उपचार गरेका संक्रमितमध्ये अधिकांस ५५ वर्ष पुगेका संक्रमितमा बढी जटिलता र मृत्युदर बढी देखिएको भन्दै यस्तो मापदण्ड बनाउनुपर्ने र खोपमा कुनै पनि शंका नगरे सबैले लाउन पनि आग्रह गरेका छन् ।
विश्वका १६ देशमा लगाइरहेको यो ‘कोभिशिल्ड खोप’ अत्यन्त प्रभावकारी र सुरक्षित रहेको विशेषज्ञले दावी गरेका छन् । विशेषज्ञका अनुसार एक व्यक्तिलाई एक डलर बराबर खोपमा लगानी गरे १६ डलर बराबरको फाइदा हुने दावी छ ।
सरकारले पहिलो र दोस्रो डोज खोपको अवधि ४ हप्ता हुने जनाएको थियो । तर, विश्व स्वास्थ्य संगठनको फेब्रुअरी १० को निर्णयअनुसार दोस्रो खोप जति लामो समयावधिमा लगायो त्यति बढी प्रभावकारी हुने बताएपछि नेपाल सरकारले पनि दोस्रो डोज ८ देखि १२ हप्ताको अवधिमा लगाउने निर्णय गेको बताए । उप्रेतीका अनुसार पछिल्लो समय देखिएको भाइरसको नयाँ भेरियन्टहरुमा पनि यही खोपले काम गर्ने विभिन्न अध्यायनले देखाएको छ ।