बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टमाथिको अनुसन्धानका लागि अदालतले प्रहरीलाई थप ५ दिनको अनुमति दिएको छ ।
हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए ।
बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको थियो । भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।
‘अभियुक्तले आफूले घाँटी थिचेर मारेको बयान स्वीकारिसकेका छन्,’ डीआईजी सुवेदीले भने,’ उनलाई आजै अदालतमा उपस्थित गराएका छौं । अदालतले ५ दिन म्याद थप गरेको छ ।’
प्रहरीका अनुसार भट्टले घाँटी थिचेर हत्या गरेको र त्यसपछि बलत्कार प्रयास गरेको बयान दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तमराज सुवेदीले आरोपीले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको बताए ।
‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौ,’ उनले भने ।