logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मी जीप दुर्घटनामा तीनको मृत्यु, चालकसहित ६ जना घाइते


अंकुरण खबर
702
Shares

गुल्मीको पराल्मीमा बुधबार राति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

तम्घासबाट रेसुंगा नगरपालिका–१४ पराल्मी जाँदै गरेका लु १ ज १९८८ नम्बरको जीप पराल्सीमा दुर्घटना भएको हो । दुर्घटनामा रेसुंगा नगरपालिका–१४ का ४८ वर्षीय एकबहादुर पोख्रेल, ४७ वर्षीया गोमा नेपाली र २८ वर्षीया शान्ता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ।

उनीहरुमध्ये एकबहादुरको घटनास्थलमै र अन्य दुई जनाको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

दुर्घटनामा रेसुंगा नगरपालिका–१४ का जीप चालक २२ वर्षीय भरत पोख्रेल, २७ वर्षीय वीरबहादुर सुर्यवंशी, ३७ वर्षीया गोमा सामत, ६५ वर्षीय देवबहादुर नेपाली, २७ वर्षीय प्रकाश नेपाली र  साढे चार वर्षीया खुसी नेपाली घाइते भएका छन् ।

घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । चालक भरत र वीरबहादुरको गुल्मी अस्पतालमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल प्रभास, पाल्पा लगिएको छ ।

ओसेपिलो ठाउँमा जिप चिप्लिएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।