राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई गरेको बर्खास्तको नेपाली काँग्रेसले भर्त्सना गरेको छ ।
काँग्रेसको तर्फबाट प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखको शुक्रबार गरिएको बर्खास्त र नयाँ नियुक्तिको विरोध र भर्त्सना गरेका हुन् ।
‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढङ्गले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहोराएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरूपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
‘संसद् विघटनको असंवैधानिक कदम पश्चात् काम चलाऊ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न ।‘ शर्माले भनेका छन् ।
सो कदमको विरोध जनाउँदै नेपाली काँग्रेसले स्वेच्छाचारी ढङ्गले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिएको छ ।