राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण शुरु गरिएको छ ।
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेपछि सोमबार पानी हालेर परीक्षण शुरु गरिएको हो ।
आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम आयोजना गरी परीक्षण शुरु गरिएको हो । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार खानेपानी मन्त्री मणिचन्द्र थापा, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण शुरु गरिएको छ ।
यसअघि गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो । तर, हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानस्थित मुख्य अडिट गेट (नम्बर १७)फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
परीक्षण गर्दा नै दुर्घटना भएपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत ४ जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।
विशेषज्ञहरूले निरीक्षण गरेपछि दिइएका महत्त्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार गरिएको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए ।
विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ ।
उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौंस्थित विभिन्न अस्पतालसँग समन्वय गरिएको छ । खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । सुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले बताए ।