logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्रीद्वारा शिलान्यास


अंकुरण खबर
962
Shares

सुदूरपश्चिममा स्थापना हुने भनिएको बहुचर्चित दैजी छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्।

शिलान्यास कार्यक्रमका लागि कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले केही बेरअघि औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्।

२०५२ सालमा तत्कालीन नेकपाको ९ महिना सरकारमा मनमोहन अधिकारी प्रधानमन्त्रीका भएका बेला सो क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो।

त्यसयता औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिन सकेको थिएन। प्रधानमन्त्रीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने स्थानीयले अपेक्षा गरेका छन्।

नौ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो। औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ।

औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने छन्।