logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

अहिलेको युद्ध हामीले जित्छौं, अदालतले सही फैसला गर्छ : प्रचण्ड


अंकुरण खबर
806
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले ‘सही फैसला’ गर्छ भन्ने विश्वास आफूमा रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित जनयुद्धको हस्ताक्षर नामक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरु अहिले रक्तपातहीन युद्धमा रहेको पनि बताए । अहिले चलिरहेको युद्ध जित्नैपर्ने दायित्व रहेको पनि उनले बताए ।

‘नेपाली जनताले वर्षौंसम्म गरेको संघर्षबाट प्राप्त उपलब्धिको अपहरण गर्ने अपहरणकारीका विरुद्ध एउटा नयाँ प्रकारको युद्ध मै छौं । तर, त्यो रक्तपातपूणर् र हिंसात्मक छैन,’ प्रचण्डले भने, ‘पुस ५ गतेदेखि आज (फागुन ११ गतेसम्म) नयाँ प्रकारको युद्ध लडिरहेका छौं ।’

उपलब्धिको अपहरण गर्ने पक्ष हतियार प्रदर्शन गरेर दबाउन खोज्नेतिर लागेको पनि प्रचण्डले आरोप लगाए । ‘उपलब्धिको अपहरण गर्ने पक्ष हतियार प्रदर्शक हुन खोज्छ उ, राज्यको शक्ति प्रयोग गरेर दबाउन खोज्छ ऊ,’ प्रचण्डले भने, ‘हामीचाहिँ रक्तपातहीन युद्ध, शान्तिपूणर् युद्ध, नयाँ प्रकारको युद्धमा छौं । अहिलेको युद्ध हामीले जित्नु छ ।’

उपलब्धिको रक्षा गर्न अहिले लडाइँ चलिरहेको उल्लेख गर्दै प्रचण्डले अदालतले पनि सही निणर्य गर्छ भन्ने विश्वास आफूमा भएको बताए । ‘हाम्रो अदालतप्रति विश्वास छैन भन्न मैले खोजेकै छैन,’ प्रचण्डले भने, ‘मैले भन्ने गरेको छु, अदालतमा मुद्दा चलिराख्या छ अदालतले सही फैसला गर्छ भन्ने हामीलाई विश्वास छ ।’

संसद विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले त्यसविरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिए । ‘अहिलेको युद्ध हामीले जित्नु छ । हामीले नै जित्छौं,’ प्रचण्डले भने ।