काठमाडौं – नेपालसहित विश्वभर आज अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवस विविध कार्यक्रम गरी मनाईँदैछ । हरेक वर्ष अक्टोबर १ मा ज्येष्ठ नागरिकको सम्मान तथा स्याहारलाई थप मजबुद बनाउने उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ । नेपालको जनसंख्याको १० प्रतिशत भन्दा बढी मानिस ६० वर्ष भन्दा माथिको रहेको बताइन्छ ।
विश्वमा ज्येष्ठ नागरिकको संख्या तीव्र रुपमा बढिरहेको छ । विश्वमा हाल ६० वर्ष भन्दा माथिका मानिसको संख्या ९६२ मिलियन भन्दा बढी रहेको छ । यो संख्या सन् २०३० सम्ममा ४६ प्रतिशतले बढेर १.४ बिलियन पुग्ने प्रक्षेपण गरिएको छ । विकासशील देशमा ज्येष्ठ नागरिकको संख्या बढ्ने क्रममा अझ तीव्र रहेको छ । यसलाई २१ औँ शताब्दीको सबैभन्दा महत्वपूर्ण सामाजिक सुधारका रुपमा लिइन्छ ।
यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रका सम्पूर्ण ज्येष्ठ नागरिकको सुखी, स्वास्थ्य र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गरेकी छन् ।