काठमाडौं – संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि कृष्णबहादुर महराले मंगलबार सभामुखबाट राजीनामा दिए ।
उनलाई उनी सम्बद्ध पार्टीले सांसदबाट पनि राजीनामा दिन भनेको छ । तर सभामुखबाट मात्रै राजीनामा दिएका महराले आफू निर्दोष रहेको र छानबिनका लागि नैतिकताका आधारामा राजीनामा दिएको बताएका छन् ।
महराका समर्थकले पार्टीकै नेताहरु उनको विपक्षमा उभिएको आरोप पनि लगाएका छन् । यस्तै संकेत गर्ने टिप्पणी महराका छोराले गरेका छन् । महराका छोरा निर्मल महरा एटमले बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा आफ्ना पिता पदको भोगी नहरेको र छानबिनका लागि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।
एटमले पार्टीका नेताहरुलाई लक्षित गर्दै लेखेका छन्,
‘महरा पदको भोगी होइनन्, आरोपित घटनाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन् ।’
‘कति छिटो आँ गरेर बसेको ? कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस् भन्ने कामना गर्न लागेपछि षड्यन्त्र के लाई बुझ्ने ?’
बलात्कारको आरोप लागेका कृष्णबहादुर महराले सांसद पदबाट राजीनामा नदिए पनि उनी सम्बद्ध नेकपाले अब सांसदका रुपमा नचिन्ने बताइसकेको छ । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले महरालाई नेकपा संसदीय दलले सांसदका रुपमा नचिन्ने बताएका छन् ।