नेकपाको दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकताबारे तत्काल निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
आज (बुधबार) पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकताबारे आफूहरुले गरेको यसअघिको दाबी र त्यसपछिका पत्राचारका विषयमा गम्भीर बनेर निस्पक्ष तथा न्यायसंगत निर्णय गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
स्थायी कमिटी सदस्य भीम रावलका अनुसार बहुमत सदस्यको हस्ताक्षरसहित आयोगमा बुझाइएको दाबी तथा त्यसपछि निर्णयका लागि गरिएको पत्राचारबारे निर्वाचन आयोगले कुनै पनि प्रतिक्रिया नदिएकाले यसबारे तत्काल निर्णय गर्न आजको बैठकले आग्रह गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू असुरक्षित भएको भनेर दिएको अभिव्यक्ति षड्यन्त्रपूर्ण र गैरजिम्मेवार रहेको ठहर गरेको छ ।
केन्द्रीय कमिटी बैठकले पार्टीको संसदीय दलका उप नेता सुवास नेम्वाङलाई अनुशासन उल्लंघन गरेको भन्दै साधारण सदस्यतासमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । उनलाई संसदीय दलको नेताबाट तत्काल राजीनामा दिन निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य थापालाई पनि निलम्बन गर्ने निर्णय गरेको छ । बैठकले सहरी विकासमन्त्री प्रभु साह, प्रमुख सेचतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, महेश बस्नेत र कर्ण थापालाई पनि निलम्बन गर्ने निर्णय गरेको छ ।
बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिसलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेकोमा सर्वोच्च अदालत र संवैधानिक इजलासका न्यायाधीहरुलाई धन्यवाद दिएको नेता रावलले जानकारी दिए ।