नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएको तीन बुँदे सहमतिमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय सभागृहमा शुक्रबार जारी हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले सहमतिलाई आफूहरुले पालना गर्ने प्रतिबद्धता जनाउँदै कसैको भड्काउमा नलाग्ने बताएका हुन् ।
‘तीन बुँदे सहमतिमा हामी प्रतिबद्ध छौँ । सहमतिलाई हामी पालना गर्छौं ।’ उनले भने, ‘यस सहमति राज्य र नेकपाबीच मात्र होइन, यस सहमतिका पछाडि महान आकांक्षा छ, देशलाई सुन्दर देश बनाउने सपना छ ।’
सम्बोधनका क्रममा उनी शहीदलाई सम्झिएर भावुक पनि बने । उनले भने, ‘हाम्रो जीवन बलिदान गर्छौ , सहिदको सपना मर्न दिँदैनौँ ।’
उनले शहीदको सपनालाई मर्न नदिने प्रतिबद्धता जनाए । उनले मुलुकमा आफ्ना थुप्रै सन्तानले बलिदान दिएको बताए ।
‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच सम्पन्न सहमितमा शुक्रबार हस्ताक्षर भएको छ । सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट खड्ग विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।