नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरुले पुनःस्थापित प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
संसद बैठकको कार्यसूचीप्रति आपत्ति जनाउँदै प्रचण्ड-नेपाल समूहका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् ।
आइतबार निर्धारित समयभन्दा १ घण्टाभन्दा पनि ढिलो शुरु भएको प्रतिनिधि सभा बैठकको शुरुमै नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरुले बैठकको कार्यसूचीप्रति आपत्ति जनाएका थिए ।
बैठकको शुरुमा नै प्रचण्ड-नेपाल समूहका सांसद भीम रावलले प्रतिनिधिसभा शोक प्रस्ताव पारित गर्ने दिन कार्ययसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै सरकारले जारी गरेका अध्यादेश पेस गर्ने कार्यसूची राखेकोमा विरोध जनाएका थिए ।
तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक शुरु भएकै दिन पेस गर्नुपर्ने कानून बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टिकरण दिए ।
भीम रावलले आफूहरुको विरोध कायमै रहेको बताए । रावलले विरोध कायम रहने बताए पनि सभामुखले अध्यादेश प्रस्तुत गर्ने प्रक्रिया अगाडि बढाउन खोजेपछि प्रचण्ड-नेपाल समूहका सांसदहरु उठेर बैठक बाहिर निस्किएका हुन् ।
प्रतिनिधि सभा बैठकको शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरो सुनाएका थिए ।