नेकपा माओवादी केन्द्रले सत्ता समीकरणका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ ।
मंगलबार पार्टी हेडक्वार्टर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सत्ता समीकरणका लागि कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको हो ।
‘संसद् र सरकार सञ्चालनका विषयमा प्रमुख प्रतिपक्षी कांग्रेस र अर्को प्रतिपक्षी जसपासँग वार्ता गर्ने निर्णय भएको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘एमालेसँग पनि छलफल गर्न सकिन्छ। तर, अहिलेको परिस्थितिअनुसार कांग्रेस र जसपासँग वार्ता गर्नेछौं।’
उनले सबै दलसँग विनाशर्त राजनीतिक पार्टीका हैसियतमा वार्ता र संवाद गरिने बताए। सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र विउँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका सांसदहरुका हकमा भने बैठकले कुनै निर्णय गरेन। ‘पहिले उहाँहरुले आफ्नो दृष्टिकोण र स्थिति स्पष्ट गरेपछि मात्रै हामी निर्णय लिनेछौं,’ उनले भने।
हाल माओवादी केन्द्रका सांसदहरु रामबहादुर थापा, टोपबहादुर रायामाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरी ओलीसँग छन्। उनले सर्वोच्चको फैसलाले सांगठनिक रुपमा परेको नाफा घाटाको हिसाब पार्टीले नगरेको बताए।
‘हामीले नाफा र घाटाको हिसाब गरेको छैन। नेकपा निर्माण गर्दा ठूलो उद्देश्यका राखेका थियौं। एकता जोगाउन प्रयास गर्यौं। समाजवाद तर्फ अघि बढ्ने अवसर थियो। त्यो व्यवहारमा देखाउनुपर्ने थियो। तर त्यसो हुन सकेन। यो घाटा हो,’ उनले भने, ‘सांगठानिक रुपमा परेको नाफा घाटाको हिसाब हामीले गरेका छैनौं।’