logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्योति लाइफको आईपीओ १५ लाख ७० हजारले भरे


अंकुरण खबर
3.12K
Shares

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा हालसम्ममा १५ लाख ७० हजार ४ सय १४ जना आवेदकबाट ३ अर्ब ३४ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको ३ करोड ३४ लाख ६७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेड जनाएको छ ।

कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।

यसअघि फागुन २३ गतेदेखि विक्री खुला गर्ने मिति तय गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशनमा दुई दिन अघिनै विक्री खुला गरेको हो । छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब रुपैयाँ कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।

हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६/७७ सम्म प्रतिशेयर नेटवर्थ १३२ दशमलव ९४ रुपैयाँ र प्रतिशेयर आम्दानी १२ दशमलव ६५ रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा २८ करोड ६४ लाख १ हजार रुपैयाँ छ ।