नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठक शुरु भएको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक शुरु भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बैठकमा पार्टी पुनर्गठन, सरकारलाई दिएको समर्थन र नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने जनाइएको छ ।
नेकपा नाम विवादको मुद्दामा सर्वोच्च अदालतले आइतबार गरेको फैसला पछि ब्यूँतिएको माओवादी केन्द्रको मंगलबार पहिलो स्थायी कमिटी बैठक बसेको थियो ।
मंगलबारको बैठकले भावी सत्ता समीकरणका विषयमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतसँग छलफल गर्ने निर्णय गरेको थियो ।
मंगलबारको बैठक पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।
नयाँ सत्ता समीकरणका विषयमा छलफल अगाडि बढाइए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनका विषयमा भने माओवादीले कुनै निर्णय गरेको छैन ।
नेताहरुका अनुसार नयाँ सत्ता समीकरणका विषयमा ठोस सहमति नहुञ्जेलसम्म वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने रणनीति माओवादी केन्द्रले लिएको छ ।