logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


अंकुरण खबर
754
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि  बैठकले निरन्तरता पाउने बताइएको छ ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै यसमा मिसिएका दुई दल (एमाले र माओवादी केन्द्र)  ब्युताइँदिएपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक हिजो आइतबार बसेको हो । त्यही बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।

आजको बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

हिजोको बैठकको निर्णयअनुसार ओली सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता आउन तथा गृहमन्त्री बादलसहित एमालेमा लागेका नेताहरूलाई स्पष्टीकरण दिन निर्देशन दिँदै माओवादी केन्द्रले पत्राचार गरेको छ ।

यस्तै पार्टीको नाम फेरेर नेपाली कम्युनिष्ट पार्टी राख्नेलगायत ६ प्रस्ताव बैठकमा प्रस्तुत भएको थियो ।

हिजोको बैठकमा प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका हुन् । बैठकमा प्रदेश–१ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ शाह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए ।

यस्तै, अध्यक्ष प्रचण्डले पार्टीको नाम फेर्न गरेको प्रस्तावको अधिकांश केन्द्रीय सदस्यहरुले विरोध गरेका थिए । उनीहरुले हतारमा पार्टीको नाम फेर्न नहुने सुझाव दिएको नेताहरुले बताएका छन् ।

माओवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले आज केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकले सरकारमा रहेका सात मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।