कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसद् ‘फेस’ गर्ने बताएका छन् ।
नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने र आफ्नो पार्टीका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपछि शाहीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘एमालेको एउटा पक्षले समर्थन फिर्ता लिएको हो । अर्को पक्षको समर्थन छँदैछ । विश्वासको मत लिनुपर्ने भए लिउँला,’ उनले भने। शाही नेकपा माओवादी (केन्द्र) बाट मुख्यमन्त्री भएका हुन्।
कर्णालीमा एमालेको संस्थापन पक्षले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । संसदीय दलको बैठकले सरकारमा सामेल मन्त्रीहरूलाई पाँच दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ।
कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सरकारमा छन्।
दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना सहभागी थिए। माधव नेपाल–झलनाथ खनाल समूहका सांसदहरु बैठकमा सहभागी भएनन्।