logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दीपक जैसी तिम्सिनाः नेपाल आइपुगेर आफू निर्दोष भएको बताए


अंकुरण खबर
2.132K
Shares

चालीस वर्षभन्दा बढी समय भारतीय जेलमा रहेका नेपाली दीपक जैसी तिम्सिना आइतवार बिहान नेपाल आइपुगेका छन्।

भारतको सीमा पानीट्याङ्कीमा केही बेर कागजात बुझाउन लागेको समयपछि उनी भाइ प्रकाशचन्द्रसँगै सीमा नाकाबाट हिँडेर नेपालतर्फ प्रवेश गरे।

दीपक जैसी तिम्सिना

कर्तव्य ज्यान मुद्दामा सन् १९८० मा भारतको दार्जिलिङबाट पक्राउ परेका तिम्सिना ४० वर्ष बिनासुनुवाइ कारागारमा रहेका थिए। इलामको एकतप्पाबाट २०३७ सालमा हराएका तिम्सिना बुधवार अदालतको आदेशपछि शनिवार कोलकाताबाट कारागारमुक्त भएका थिए।

आइतवार नै उनी इलामको माइ नगरपालिका १० मा रहेको उनको घर पुग्नेछन्। ४० वर्षपछि उनले आफ्नी ८६ वर्षीया आमा र परिवारका अन्य सदस्यलाई भेट्ने छन्। उनी २० वर्षको उमेरमा हराएका थिए र ६१ वर्षको उमेरमा घर फर्केका हुन्।

उनका काकाका छोरा भाइ प्रकाशचन्द्र तिम्सिनाले उनलाई कारागारबाट छुटाएर नेपाल लिएर आएका हुन्।

गत बुधवार कोलकाता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो।

कस्तो अवस्थामा आइपुगे ?

दीपक जैसी तिम्सिना

उनलाई ‘तपाईँ कहाँ जाँदै हुनुहुन्छ’ भनेर सोध्दा मलिन स्वरमा भने, ‘दार्जिलिङ हो कि।‘

कारागारमा रहँदा ६/६ महिनामा उनलाई पक्राउ गरिएको स्थान भारतको दार्जिलिङ लगिने गरिएको बताइएको छ।

काँकरभिट्टास्थित विश्वसेवा विस्तार मञ्चको कार्यालयमा आइपुगेर उनलाई पानी पिउन दिँदा उनले भने, ‘पाइखाना पातलो हुन्छ, खान्न।

उनका दाँत सग्ला छैनन्। ओठ कामिरहेको थियो। हातका औँला नाचिरहेका थिए। गर्मीका कारण पङ्खा चलाउँदा हात बाँधेर जाडो भएजस्तो गरिरहेका थिए।

‘तपाईँको आमा हुनहुन्छ नि’ भन्दा उनले जवाफ दिए, ‘पहला था।

उनले भने, ‘मैले होइन’

दीपक जैसी तिम्सिना

उनलाई कारागारमुक्त गरिए पनि उनको मुद्दाको फैसला भएको छैन।

अदालतले उनका भाइ प्रकाशचन्द्र र कोलकातास्थित महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा उनलाई कारागारमुक्त गर्ने आदेश दिएको हो।

६/६ महिनामा उनको अवस्थाको जानकारी अदालतलाई दिनुपर्ने सर्तमा उनी रिहा भएका हुन्।

काँकरभिट्टामा उनलाई ‘तपाईँलाई किन जेलमा राखिएको’ भनेर सोध्दा उनले जवाफ दिए, ‘मर्डर । तर उनले सानो स्वरमा थपे, ‘मैले होइन।

जेलबाहिर आउँदा केही बोल्न सकेनन् । बीबीसी