नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको १० लाख रूपैयाँ उपचार खर्च लिन अस्वीकार गरेको छ ।
जोशीका स्वकीय सचिव पुष्कर पाण्डेका अनुसार जोशीको परिवारले सरकारले दिने रकम नलिने घोषणा गरेको हो ।
मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि सरकारले गत बिहीबार १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
‘सरकारले उपचार खर्च दिने निर्णय गरेको थियो। त्यसका लागि धन्यवाद । तर परिवारले सरकारले दिने भनेको १० लाख रूपैयाँ नलिने घोषणा गरेको छ,’ पाण्डेले भने, ‘उहाँको परिवारले विपन्न वर्गको उपचारका लागि भनेर वीर अस्पतालमा १० लाख रूपैयाँको कोष खडा गरेको छ । यस्तो अवस्थामा सरकारले दिएको रकम लिन शोभनीय देखिएन भन्ने उहाँको भनाइ छ ।’
पाण्डेले जोशीको स्वास्थ्य अवस्था जटिल रहेको बताए । ‘चिकित्सकहरूले उपचार हुँदैछ ठिक हुन्छ, भन्नुभएको छ । तर, अहिलेसम्म क्लियर कुरा गर्नु भएको छैन,’ उनले भने, ‘अहिले उपचारका लागि बाहिर लाने अवस्था पनि छैन । बीचमा हामीले एकपटक लैजाने तयारी गरेका थियौं । तर, अस्पतालले अनुमति दिएन ।’