जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक लगाएको छ ।
कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोभिड–१९ अर्थात् कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको जोखिम बढेकाले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न र नगराउन अनुरोध गरेका हुन् ।
गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको निर्देशनानुसार जिल्लामा कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न भिडभाड हुने कुनै किसिमको कार्य नगर्न नगराउन अनुरोध गर्दै स्वीकृतिविना यस्ता काम गरेको पाइए कारवाही गरिने उनले बताए ।
भक्तपुरमा नयाँ वर्षमा मनाइने प्रसिद्ध बिस्केट जात्रा सञ्चालनमा भने वैकल्पिक उपाय खोजिने उनले बताए । प्रजिअ भट्टराईले बिस्केट जात्रा रोक्नेबारे अहिले नै कुनै निर्णय नलिएको तर धेरै भिडभाड हुने भएकाले रथ तान्न र लिङ्गो उठाउनेबारेमा भने वैकल्पिक उपाय खोजिने बताए ।
बिस्केटका लागि हरेक वर्ष लिङ्गो तानेर ल्याउने परम्परा भए पनि यस वर्ष डोजर प्रयोग गरेर ल्याएको भन्दै उहाँले भैरवनाथको रथ र लिङ्गो तान्ने कार्यमा पनि मेशन वा अरु केही वैकल्पिक उपाय खोज्न सकिने बताए ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण गत वर्ष बिस्केट जात्रा औपचारिकतामा मात्रै सीमित गरिएको थियो । यस वर्ष भने बिस्केट जात्रा मनाउन तौमढीमा भैरवनाथको रथ बनाउने कार्य भइरहेको छ भने लिङ्गो ल्याएर राखिएको छ ।
यस्तै मध्यपुरथिमि बालकुमारीमा वैशाख २ गते मनाइने खट तथा सिन्दुर जात्रा र बोडेमा मनाइने जिब्रो छेड्ने जात्राकोसमेत तयारी भएको छ ।