भारतको जेलमा बिना अपराध ४० बर्ष विताएर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय इलामले निवेदन दर्ता भएको २० मिनेटमै दुर्गाप्रसादलाई नेपाली नागरिकता दिएको हो ।
जिल्ला प्रशासनले जारी गरेको नागरिकता विवरण अनुसार माई नगरपालिका-१० निवासी उनको जन्म मिति २०१७ साउन २ गते कायम भएको छ । उनी १९ वर्षको उमेरमै भारतको कोलकात्तास्थित दमदम सेन्ट्रल जेलमा बिना अपराध थुनिन पुगेका थिए ।
इलामस्थित एकजना पत्रकार सटेन्द्र जबेगुका अनुसार अविवाहित उनलाई प्रशासनले निवेदन दिनेबित्तिकै नागरिकता दिएको हो । नागरिकता उपलब्ध गराएर अब भारतीय पक्षसँग लड्न कानुनी बाटो पनि सजिलो भएको छ । उनलाई क्षतिपूर्ति दिन कोलकातास्थित उच्च अदालतले भारत सरकारलाई आदेश दिइसकेको छ ।
कोलकाताको कारागारबाट ४० वर्षपछि अघिल्लो शनिबार रिहा भएका दुर्गाप्रसाद तिम्सिना चैत ८ मा घर आइपुगेका थिए ।
कोलकाता उच्च अदालतले रिहा गर्न आदेश दिएपछि दुर्गाप्रसादलाई त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाइएको थियो।