logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

अब लकडाउन हुँदैन, सिमाना पनि बन्द गर्दैनौँ : अर्थमन्त्री पौडेल


अंकुरण खबर
1.352K
Shares

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने बताएका छन् ।

कोभिड-१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले लकडाउन नगरिने मन्त्री पौडेलको भनाइ छ । मन्त्री पौडेलले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने, तर लकडाउन र सीमानाका बन्द नगरिने बताए ।

बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन् ।

‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ, त्यसबाट हामी जोगिनु पर्नेछ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छु,’ उनले भने, ‘त्यसकारण हामी आर्थिक, सामाजिक क्रियाकलाप सुचारु र नियमित गर्छौं, स्वास्थ्य मापदण्ड ख्याल गरेर अघि बढ्छौँ । अहिले सरकारले सिमानाका बन्द र लकडाउनबारे सोचेको छैन, त्यो उपयुक्त पनि हुँदैन ।’

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताएका छन् । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनले बजेटको तयारी पनि शुरु भइसकेको जानकारी दिएका छन्।

‘हामी बजेटको तयारीमा जुटेका छौं । सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ, सँगसँगै बजेटको तयारीमा जुटिरहेका छौ’  उनले भने, ‘समग्रमा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौंला । मुख्य रुपमा हामी कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना जस्ता विषयमा बढ्ता केन्द्रित हुन्छौं । अर्थतन्त्रलाई लयमा फर्काएर गतिशील बनाउन गर्नुपर्ने निर्णयहरुसहित बजेट ल्याउँछौँ ।’