महोत्तरीको भंगहाबाट ७ जना किशोरी सम्पर्कविहीन भएका छन् ।
भंगहा नगरपालिका–८ मा रहेको धर्मपुर टोलका ७ जना किशोरी मंगलबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।
हिजो दिउँसो झण्डै दुई बजे घाँस काट्न निस्केकी २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान अहिलेसम्म सम्पर्कमा नआएका परिवारका सदस्यले बताएका छन् ।
हराएका सातै जना एउटै टोलका हुन् । उनीहरु हराएकोबारे प्रहरीमा खबर गरेको ज्योति पासवानका बुवा विष्णु पासवानले बताए । उनका अनुसार ‘घरबाट झण्डै एक किलोमिटरको दुरीमा रहेको पूर्वपट्टीको चौरमा उनीहरुले घाँस काट्दै गरेको स्थानियवासीले देखेका थिए । तर उनीहरु साझँसम्म घर नफर्किएपछि खोजी शुरु गरिएको जनाइएको छ ।
महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले हराइरहेकाहरुको खोजीमा प्रहरी टोली खटाइएको जानकारी दिए ।