सत्तारुढ नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सरकारबाट इतिहासमै नभएको काम भएको दाबी गरेकी छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै चौधरीले सरकारलाई सलाम गर्नुपर्ने बताएकी हुन् ।
विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याएको सन्दर्भ उठाउँदै चौधरीले सरकारबाट इतिहासकै ठूलो काम भएको बताएकी छन् । ‘सरकारले गरेका काम हामीले देख्नै छाड्यौँ । हामीले राम्रा कामको बारेमा त बोल्नै पर्यो नि’, उनले भनिन् ।
उनले मेलम्चीको पानी काठमाडौँ झरेको, सुरुङ मार्ग र विद्रोही समूहलाई शान्तिप्रक्रियामा ल्याएको भन्दै राम्रा कामका बारेमा सबैले आवाज उठाउनुपर्ने बताइन् ।
चौधरीले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भए त्यसलाई जनताले देखिरहेको बताएकी छन् ।
‘असंवैधानिक कदम प्रधानमन्त्रीले चाल्नुभयो भनेर भनिरहनुभएको छ,’ उनले भनिन्, ‘यदि चालेको हो भने असंवैधानिक कदम चाल्न बाध्य बनाउने कुराहरु जनताले देखिहरेका छन्। देशले देखिरहेको छ।‘
चौधरीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै विरोध गर्नेहरुप्रति असन्तुष्टि व्यक्त गरिन् ।