logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

फ्रान्समा एक महिना लकडाउन, शैक्षिक संस्था पनि बन्द


अंकुरण खबर
1.443K
Shares

फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण पुनः तीब्र भएपछि एक महिनाका लागि लकडाउनको घोषणा गरिएको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सी (शनिबार) देखि एक महिना लकडाउनको घोषणा गरेका हुन् ।

एक टेलिभिजनमा सम्बोधन गर्दै उनले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका बीबीसीले जनाएको छ ।

लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्नेछ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने खबरमा उल्लेख गरिएको छ । यस्तै, उनले कोरोनाको सङ्क्रमण बढे पनि यसलाई नियन्त्रण गर्न सकिने भएकाले डराउनु नपर्ने बताए ।

उनले कोरोनाविरुद्धको खोपलाई तीव्रता दिने र १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप दिने पनि बताएका छन् । फ्रान्समा गएको २४ घण्टामा ४१ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।

अहिलेसम्म फ्रान्समा ४६ लाख ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ९५ हजारभन्दा धेरै ज्यान गएको छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो स्थानमा छ ।