नेकपा (एमाले)को माधव नेपाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ।
आज मंगलबार उक्त समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरेको हो। कमिटीमा १७५ जना छन्।
कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाईं छन् भने सदस्यमा वसन्त मानन्धर, विष्णु देवकोटा, पेम्बा तामाङ, टोकबहादुर वाइबालगायत छन्।
दुई दिन अघिमात्रै नेपाल खनाल समूहले काठमाडौं जिल्ला कमिटी घोषणा गरेको थियो। वसन्त मानन्धरको नेतृत्वमा गठित कमिटीमा २५० जना छन्।
अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि नेपाल खनाल समूह रुष्ट छ।
यसअघि नै उक्त समूहले विभिन्न जिल्ला र भ्रातृ संगठनहरूमा समानान्तर कमिटी गठन गरिसकेको छ।
संस्थापन समूहले भने समानान्तर कमिटीमा बस्नेलाई कारबाही हुन सक्ने बताएको छ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सोमबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताए।
लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैरकानुनी र गैरसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि उनले बताए। उनले भने, ‘समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य छैन।’