logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले प्रवेश गरेको केही दिनमै वायुसेवा निगम सञ्‍चालकमा प्रधानको नियुक्ति


अंकुरण खबर
910
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमको सञ्चालकमा किशोरकुमार प्रधानलाई नियुक्त गरेको छ ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयबाट प्रधानलाई निगमको सञ्चालकमा नियुक्त गरेका हुन् ।

प्रधान केही दिनअघि प्रधानमन्त्री कार्यालय बालुवाटारमा भएको कार्यक्रममा एमालेमा प्रवेश गरेका थिए । उनी नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकालसँग पराजित भएका थिए ।

प्रधानलाई नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम निगमको सञ्चालकमा ४ वर्षका लागि नियुक्त गरिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रधान एमालेमा प्रवेश गरेपछि पत्रकारहरुले कुन पदको बार्गेनिङको लागि पार्टी प्रवेश गरेको भन्ने प्रश्न गरेका थिए। उत्तरमा प्रधानले आफू पदको लागि एमालेमा प्रवेश नगरेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुनै पदमा ‘एडजस्ट’ गराउने विश्वास रहेको प्रतिक्रिया दिएका थिए ।