सरकारी कागजात किर्ते गरेको आरोपमा एक वकिल पक्राउ परेका छन् ।
जिप्रका मकवानपुरले महानगरीय प्रहरी परिसर काठमाडौंसँग समन्वय गरेर अधिवक्ता बद्रीप्रसाद पौडेललाई काठमाडौंबाट पक्राउ गरेको हो ।
हेटौंडा उप–महानगरपालिका–४ मा ९ कठ्ठा ३ धुर जग्गामा रहेको कम्पनीको शेयर किर्ते कागजात बनाएर पौडेलले बेचेको आरोप छ ।
०६६ मा पाँचजना शेयर सञ्चालकमध्ये मृत्यु भएका ४ जना भारतीयको नाममा रहेको शेयर फर्जी कागजात बनाएर बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
जिल्ला अदालत मकवानपुरबाट ०७५ मा पौडेलको नाममा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी आएपछि उनी फरार भएका थिए । भक्तपुर चाँगुनारायण घर भएका उनी वीरगञ्ज कार्यक्षेत्र बनाएर कानुन व्यवसाय गर्दै आएका थिए ।
अधिवक्ता पौडेललाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेको मकवानपुरका एसपी सोमेन्द्रसिंह सिंह राठौरले बताए । उनले भने, ‘कम्पनी रजिष्टारको कार्यालयका अधिकृतको हस्ताक्षर पनि किर्ते गरेको देखिन्छ ।’