काठमाडौं – आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गाभवानीको पूजा–आराधना गरी बलि दिएर मनाइँदैछ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिन्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिइ पायस पनि चढाउने गर्दछन् ।
अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुन्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध)ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ ।
यस्तै, हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ ।