logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

ओलीको विधान विपरितको काममा साथ दिनेहरू दास हुन् : नेता नेपाल


अंकुरण खबर
897
Shares

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीविरुद्ध समानान्तर कमिटी बनाउन जुटेको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले  ओलीले पार्टीको विधान मिचेर कारबाही चलाएकाले त्यसको प्रतिरोधमा समानान्तर कमिटी गठन गर्न आफु जुटेको बताएका हुन् ।

शुक्रबार एमालेको समानान्तर मोरङ जिल्ला समिति गठन गर्न नेता नेपालले विराटनगर पुगेका हुन् ।

उनले ओलीको विधान विपरितको काममा साथ दिनेहरू दास भएको दाबी गरेका छन् । नेता नेपालले ओलीले आफ्नो भक्तहरुलाई मात्रै पार्टीमा प्रश्रय दिएको आरोप समेत लगाए ।

सर्वोच्च अदालतले पार्टी पुरानै अवस्था ब्युँताइदिए पनि अध्यक्ष ओलीले विधान विपरित आफुहरुसहितका नेताहरुलाई कारबाही चलाएको बताए । उनले अहिले आफूहरू सबैलाई मिलाउने काममा लागि रहेको पनि दाबी गरे ।

ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भइरहेको उनको ठहर छ । ओलीको दास हुन नसक्नेहरू सङ्गठित हुँदै गएको उनको भनाई छ ।

‘अदालतको फैसालले पार्टीलाई पुरानो अवस्था फर्काइदिएको छ’ नेता नेपालले भने, ‘ओलीले मुख हेरेर कारबाही चलाएका छन्। यो कार्य विधान विपरित छ । ओलीको विधानविपरीत काम गर्नेलाई पनि साथ, समर्थन दिने भनेका दास हुन् । हामी दास होइनौं ।’

उनले ओली अहिले पार्टी भित्रै अल्पमतमा परेको पनि जिकिर गरे । नेता नेपालले पार्टीलाई एकताबद्ध गर्ने हो भने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्कनु पर्ने बताए ।