कैलालीको चिसापानीस्थित पुलबाट कर्णाली नदीमा हाम फालेका ३ जना विद्यार्थीमध्ये १ जना बेपत्ता भएका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार शनिबार चिसापानी घुम्न गएका युवाहरुले कर्णालीको पुलबाट कर्णालीमा हाम फालेका थिए ।
कर्णाली नदीमा ३ जना युवाले हाम फालेकामा २ जनाको उद्धार गरिएको थियो ।
उद्धार गरिएकामध्ये लम्कीचुहा नगरपालिका-१ का १८ वर्षीय लोकेश प्याकुरेले घाइते छन् । प्याकुरेलको अहिले नेपालगञ्जमा उपचार भइरहेको जनाइएको छ । उनको छातीमा चोट लागेको जनाइएको छ ।
नदीमा हाम फालेर उद्धार गरिएका अर्का किशोर १७ वर्षीय विरेन्द्र सिंहको अवस्था भने सामान्य रहेको जनाइएको छ ।
उनीहरु एकै विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रहेका जनाइएको छ । शनिबार उनीहरु ८ जनाको समूहमा चिसापानी घुम्न गएका थिए ।
घुम्नका लागि भनेर चिसापानी पुगेका उनीहरुले कर्णाली नदीमा किन हाम फाले भन्ने विषय भने खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।