यो साता तीन दिन मात्रै शेयर कारोबार हुने भएको छ ।
यो साताको पहिलो दिन आज आइतबार घोडेजात्राका कारण शेयर बजार बन्द रहेको छ । यसै साता वैशाख १ गते नयाँ वर्षको विदा परेकाले उक्त दिन पनि बजार बन्द रहनेछ ।
सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमास सम्पन्न हुनै लाग्दा तीन कम्पनीहरुको वित्तीय विवरणले बजारलाई कस्तो प्रभाव पार्ला भन्नेमा पनि आम लगानीकर्ताहरुमा चासो देखिएको छ ।
फागुन मसान्तसम्मको वित्तीय अवस्थालाई हेर्दा सूचीकृत कम्पनीहरुको वित्तीय विवरण सन्तोषजनक देखिन्छ । तेस्रो त्रैमासको वित्तीय विवरण पनि बजारलाई सकारात्मक गतितर्फ अघि बढाउँने मद्दत गर्ने खालको आउँनेमा पनि लगानीकर्ता आशाबादी देखिएका छन् ।
यो साता तीन दिनमात्र कारोबार हुने भएकाले पनि दोस्रो बजारमा खरिद चाप बढ्नसक्ने भन्दै जानकारहरुले बजारले गति लिनसक्ने औल्याएका छन् । लगातार बजार बढीरहेकाले यो साता लगानीकर्ताहरुले नाफा बुक गर्ने सम्भावना रहेको समेत कतिपय जानकार लगानीकर्ताहरुको अनुमान छ ।