logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनको तयारीबारे छलफल हुने


अंकुरण खबर
923
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

यसअघि २७ गतेलाई तोकिएको बैठक ३ दिन धकेलिएर आजका लागि बोलाइएको बैठकमा आगामी १४ औं महाधिवेशनको तयारीबारे छलफल हुने बुझिएको छ ।

बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले आगामी भदौ ७ गते काठमाडौंमा सुरु हुने १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको विवरण आजसम्म केन्द्रीय सर्भरमा इन्ट्री गर्ने समयसीमा तोकेको थियो।

कतिपय जिल्लाबाट क्रियाशील सदस्यताको टुंगो नलागेको र कतिपय जिल्लाले टुंगो लागेको सदस्यता विवरण पनि सफ्टवेरमा नराखेको भन्दै छुटेका जिल्लालाई महाधिवेशनमा कसरी समेट्ने भन्ने विषयमा पनि आज छलफल गर्ने तयारी छ। यसअघि क्रियाशील सदस्यता विवरण इन्ट्री गर्ने समयसीमा चैत १० गतेसम्म तोकिएकोमा २० दिन थप गरिएको थियो।

आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आजसम्म सफ्टवेरमा सदस्यता विवरण इन्ट्री नगर्ने जिल्लालाई महाधिवेशनमा नसमेट्ने राय आएको थियो।

यसबारे केन्द्रीय कार्यसमिति बैठकले आज निर्णय गर्ने छ ।