logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपामा आन्तरिक सहमति, अब आफ्नै नेतृत्वमा सरकार बनाउने


अंकुरण खबर
845
Shares

भावी सत्ता समीकरणका लागि निर्णायक ‘शक्ति’ मानिएको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच आफ्नै नेतृत्वमा सरकार बनाउने समझदारी जुटेको छ ।

दुई दिनसम्म राजधानीमा बसेको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सममति जुटाएको जसपाका १ जना नेताले जानकारी दिए । तर, पार्टीका कुन नेताको नेतृत्वमा सरकार बनाउने भनेर टुंगोमा भने पुगि नसकेको ती नेताले बताए ।

जसपमा अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भावी प्रधानमन्त्री बन्ने ‘दौड’मा रहेका बुझिएको छ ।

केन्द्रीय कार्यालयमा दुई दिनसम्म चलेको जसपाको पदाधिकारी बैठक भने केही दिनका लागि स्थगित भएको छ । नयाँ वर्षका कारण केही दिनका लागि बैठक स्थगित भएको जनाइएको छ ।

बैठक बीचमै स्थगित गरेर जसपाका केही शीर्ष नेताहरु नयाँ वर्ष मनाउन काठमाडौं उपत्यका बाहिर गएका छन् ।

दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा सत्ता समीकरणको विषयमा व्यापक छलफल भएको थियो ।

सरकार गठन र सत्ता समीकरणका विषयमा जसपाभित्र दुई लाइन छन् । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाएर भावी सरकार गठनमा सहभागी हुनुपर्न पक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो माग पूरा हुने अवस्थामा ओली नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालको माग पूरा गर्ने प्रकृया सुरु गरिसकेका हुनाले तत्कालै त्यसको विरुद्ध कुनै पनि क्रियाकलाप नगर्ने भनी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको तर्क छ । ओलीले माग पूरा गरे पनि त्यसको बहिर्गमनका लागि जसपा नेपालले पहल गर्नुपर्ने अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको अडान छ ।

जसपाका पाँचजना पदाधिकारीमा संघीय परिषदका अध्यक्ष डा।बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो र अशोक राई छन् ।