भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह केही बेरअघि स्वदेश फर्किएका छन् ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागतका लागि ठूलो भीड जम्मा भएको थियो । विमानस्थलको भित्री गेटसम्म पुगेका समर्थकहरूले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’ लगायतका नारा लगाएका थिए ।
विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजालाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइदिए । त्यस्तै विमानस्थल परिसरभित्रै पञ्चेवाजासमेत घन्काइएको छ ।
विमानस्थलको बाहिरी गेटमा पनि समर्थकहरू जम्मा भएका थिए । धेरैको हातमा राष्ट्रिय झण्डा बोकेका थिए ।
उनी चैत २६ गते हरिद्वारा गएका थिए । पूर्व राजा ज्ञानेन्द्रलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा हिन्दू सम्राटको उपाधिसहित अभिनन्दन र अभिषेक गरिएको थियो । रथ यात्रा, हेलिकप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिएका शाहले कार्यक्रममा धार्मिक सम्बोधन गर्दै हिन्दूहरुको एकतामा जोड दिएका थिए ।