बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक आज बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान २:३० बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको मृत्यु भएको छ । बाँकेमा आजसम्म कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा आएका १०० गरी १८० जनाको मृत्यु भएको हो।
हालसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष रहेका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कले देखाएको छ।