एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितले दायर गरेको रिट आज सर्वोच्च अदालतमा पेसी चढेको छ ।
एमालेले नेता माधव कुमार नेपाल सहित २७ सांसदहरुलाई सोधेको स्पष्टिकरणको विरुद्धमा नेपालले दर्ता गरेको रिट न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा परेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको मंगलबार नेता नेपालसहित २७ संघीय र ५ प्रदेश सांसदलाई स्पष्टिकरण सोधेका थिए ।
सोही स्पष्टिकरणको विरुद्धमा नेता नेपालले गएको बिहीबार सर्वोच्चमा रिट दायर गराएका थिए । पार्टीभित्र विधि, पद्धतीका लागि दवाव सिर्जना गर्दा कारबाही गर्ने मनशायले स्पष्टिकरण सोधिएको नेपाल पक्षको आरोप छ ।
न्यायाधीस ढुंगानाको एक इजलासमा परेको सो रिटमा कारण देखाउ वा कारबाही नगर्न अन्तरिम आदेश पनि दिन सक्छ । यो रिट पेशीको अन्तिम सूचीमा छ । पेशीको अन्तिम सूचीमा भएका कारण यस माथि आज सुनुवाई हुने सम्भावना भने कम रहेको छ ।
प्रधानमन्त्री ओलीले आज बस्ने गरी महाधिवेसन आयोजक कमिटीको बैठक बोलाएका छन् । आज बस्ने बैठकमा स्पष्टिकरणको जवाफ र कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने बताइएको छ ।