बाँकेको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरका १६ जना डाक्टरसहित १०५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
भेरी अस्पतालमा कार्यरत आठजना डाक्टरसहित ७३ जना स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भएका हुन् ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार आठजना डाक्टर, ३३ जना नर्सिङ कर्मचारी, २२ जना सहायक कर्मचारीहरू (क्लिनर र हेल्पर), आठजना प्यारामेडिक्स (एचए तथा अहेव) र दुईजना प्रशासनमा कार्यरत कर्मचारीहरू संक्रमित भएका छन्।
१४ दिनको अवधिमा डाक्टरसहित अस्पतालका ७३ जना कर्मचारीहरू संक्रमित भएको डाक्टर थापाले जानकारी दिए। जनशक्ति अभावका कारण संक्रमित स्वास्थ्यकर्मीले नै कोरोना संक्रमितलाई उपचार गर्नुपर्ने अवस्था छ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आठजना डाक्टरसहित ४२ जना स्वास्थ्यकर्मीहरू संक्रमित भएका छन्। अस्पतालका मेडिकल उपनिर्देशक दिनेश श्रेष्ठका अनुसार संक्रमित आठजना डाक्टरमध्ये दुईजनाको आईसीयूमा उपचार भइरहेको छ।