काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भएको छ ।
मंगलबार बस्ने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गर्ने तयारी भएको हो ।
बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षा गर्ने र कोरोना नियन्त्रणका सम्बन्धमा थपनिर्णय लिइने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा बुधबार मध्यरात सकिँदैछ । त्यसैले अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ ।
निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ । यसो त निषेधाज्ञाका बीच पनि मानिसहरुको आवातजावत र यातायातका साधनको भीडभाड सडकमा देखिएको भन्दै यसलाई थप कडाइ गर्ने तयारी भएको छ ।
यस्तै हाल बेलुका र बिहान दुई समय खाद्य पसल र डिपार्टमेन्ट स्टोरहरु सञ्चालनको अनुमति दिइएकामा अब बिहानको समयमा मात्रै सञ्चालन गर्न दिने गरी निर्णय हुने बताइएको छ ।
सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनमा रोक लगाइने यी सबै विषयमा आजको बैठकले निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।