logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट दैनिक ४५ सय नेपाली स्वदेश फर्कदै


अंकुरण खबर
689
Shares

दोस्रो लहरको कोरोना भाइरस महामारीको हब बनिरहेको भारतबाट दैनिक चार हजार ५०० नेपाली स्वदेश फर्किने गरेका छन् ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यका अनुसार पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका छन् । मंगलबार संसदको महिला तथा सामाजिक समितिसंगको भर्चुअल बैठकमा भाग लिँदै राजदूत आचार्यले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेका छन् ।

आफूले नेपालीहरुलाई सकभर घर नजान आग्रह गरेको बताउदै राजदूत आचार्यले जाँदै नजानुस् भन्न भने नसकिने प्रष्ट पारे ।

भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट २३ जना नेपालीको मृत्यु भएको आधिकारिक तथ्याङ्क दूतावासलाई प्राप्त भएको आचार्यले जानकारी दिए । तर उपलब्ध तथ्याङ्क अपुरो भएको उनको भनाइ छ ।

भारतमा संक्रमित भएका नेपालीहरुलाई दूतावासका तर्फबाट अस्पतालमा सम्पर्क गरेर उपचारमा सहजीकरण गर्ने काम भइरहेको पनि राजदूत आचार्यले बताए।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले भारतमा रहेका नेपालीले आधारकार्ड नभएको अवस्थामा सेवा सुविधा नपाएको गुनासो आइरहेको बताए । आधार कार्डको विकल्पबारे दूतावासले सोच्नुपर्ने उनको भनाइ छ ।