पाँचथरको याङवरक गाउँपालिकामा भएका दुई वटा छुट्टाछुटै हत्यामा संलग्न रहेको आरोपमा पाँचथर प्रहरीले तीन जना पक्राउ गरेको छ ।
असोज १६ गते याङवरक–२ सिलसिले भन्ने ठाउँका ३८ वर्षीय रामलाल कार्कीको टाउकोमा ढुङगा प्रहार गरी हत्या भएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा फरार रहेका सोही गाउँपालिका–३ का २३ वर्षीय रनबहादुर सेलिङलाई प्रहरीले पक्राउ गरेको हो । सेलिङ फिदिम–१ मा लुकेर बसेको बेला आज बिहान प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, बुधबार याङवरक गाउँपालिका–६ नागीमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । घर ज्वाइँ बस्दै आएका ४० वर्षीय अर्जुन मावोको छुरी प्रहार गरी बुधबार हत्या भएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा याङवरक–६ कै १७ वर्षीय आइतराज योङहाङ र २० वर्षीय बुद्धिराज योङहाङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।