नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९बाट पछिल्लो समय निकै प्रभावित बनेको नेपाललाई सहयोग गर्न मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुलाई अपिल गरेका छन् ।
आज एक वक्तव्य जारी गर्दै सभापति देउवाले कोभिड–१९ को सङ्क्रमण तीव्र भई देशभरका अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटर सहितका आइसीयू शय्या र औषधिको अभाव हुँदा संक्रमितको मृत्यु भैरहेकाले यो विपदको घडीमा सहयोग गर्न अपिल गरेका हुँन । साथै उनले यो मानवीय संवेदनाको विषयमा पनि सरकारले आवश्यक काम नगरेको आरोप लगाएका छन् । सभापति देउवाले महामारीको यो बेला गम्भीर र जिम्मेवार पूर्ण तरिकाले काम गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आइसीयू शय्या र खोपलगायतका औषधिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
उनले आम नागरिकलाई कोभिडबाट बच्न स्वास्थ्यका सबै मापदण्ड अपनाउन, सचेत र सुरक्षित रहन पनि अनुरोध गरेका छन् ।