कोभिड १९ को संक्रमणबाट विश्वभर मृतकको संख्या ३४ लाख नाघेको छ भने संक्रमितको संख्या १६ करोड ४२ लाख नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार विश्वमा कोभिड १९का कारण ३४ लाख ३ हजार ७४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १० हजार ३४८ जनाको मृत्यु भएको थियो । त्यस्तै १६ करोड ४२ लाख ५७ हजार ५१जना संक्रमण मुक्त भएका छन् ।
विश्वभर दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढिरहेको छ ।
कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । अमेरिकामा २ करोड ७१ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् भने ६ लाख ५सय ३० जनाको मृत्यु भएको छ ।
यसैगरी ब्राजिलमा ४ लाख ३६ हजार ८६२ जनाको मृत्यु भएको छ । यस्तै रूसमा १ लाख १६ हजार २११ जना, बेलायतमा १ लाख २७ हजार ६८४ जना, फ्रान्समा १ लाख ७ हजार ८१२ जना, इटालीमा १ लाख २४ हजार २९६ जनाको मृत्यु भएको छ ।
त्यस्तै अफ्रिकी मुलुकहरुमा १ लाख २६ हजार ९१३ जनाको मृत्यु भएको छ । अफ्रिकी महादेशको सबैभन्दा धेरै प्रभावित दक्षिण अफ्रिकामा ५५ हजार २६० संक्रमितको मृत्यु भएको छ ।
भारतमा पनि पछिल्लो एक सातायता संक्रमित दरमा कमी आएको छ ।
भारतमा संक्रमणकै कारण २ लाख ७८ हजार ७५१ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या ३३ लाख ५९ हजार २१६ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म २ करोड १५ लाख ९० हजार ३ जना संक्रमणमुक्त भएका छन्